काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा नेकपा ( एकीकृत समाजवादी ) सातै प्रदेशमा विविध कार्यक्रमको आयोजना गरेको छ । प्रदेश कमिटीका आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नुभएको थियो
कोशी प्रदेश
![koshi 11111682240244.jpg](https://kalamnews.com.np/uploads/posts/koshi 11111682240244.jpg)
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले -आजको वर्तमान समयमा दलाल पुजीवादी अर्थव्यवस्था विरूद्ध समाजवाद उन्मुख वैचारिक,राजनैतिक र सांगठानिक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो।
शनिबार नेकपा कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना" विषयक विचार गोष्ठीमा संबाेधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख अतिथि समेत रहनुभएका नेता बस्नेतले मुलुकमा विद्यमान उद्योग, वाणिज्य, व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न सवालमा पार्टीले आवाज उठाएको बताउदैं भ्रष्टाचार, विभेद,मिटरव्याजी, विरूद्ध र बहुपहिचानको पक्षमा पार्टीले आवाज उठाउने नीति लिएको प्रष्टयाउनु भयो।
सोहि कार्यक्रमका प्रमुख बक्ता नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप - महासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीपंक्तिमा लामबद्ध कार्यकर्तालाई शसक्त रुपमा निरन्तर संगठन विस्तारलाई जनताको विकास र जनजीविकासंग जोडेर लान निर्देशन दिए ।
नेता खतिवडाले नीति, इंगो , टक्राव, विदेशी चलखेल, नेतृत्व पलायन, आदिले नेपाली राजनीतिक फुटका कारण रहेको बताउँदै देशभित्र गरिवी, वेरोजगारी, असमानता, भेदभाव, जस्ता समस्याहरू झेलिरहेको बताउनु हुँदै यही जेठ मसान्तसम्ममा पार्टीको सशक्तिकरण अभियानलाई घरदैलोमा पुर्याउन समेत आवश्यक निर्देशन दिनुभयो।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटीका सचिव महेश रेग्मीले "नेपालको कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना" विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्य पत्रमाथि प्रा. डा . गोपाल भट्टराईले टिप्पणी गर्नुभएको थियो।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रमको अध्यक्षता कार्यवहाक अध्यक्ष धर्मप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला कमिटीका अध्यक्ष- चन्द्रवीर राईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रदेश, जिल्ला तथा विभिन्न स्थानीय तहका नेता तथा कार्यकर्ताहरुले आ आफ्ना जिज्ञासा समेत राख्नु भएको थियो।
उक्त अवसरमा पुराना कम्युनिष्ट वरिष्ठ नेता कमल कोइराला,नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कृष्ण कुमारी विश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रदेश नं १ की माननीय सांसद विद्या चाम्लिङ राई , प्रदेश नं १ का सामाजिक विकास पूर्व मन्त्री - राजन राई ,केन्द्रीय सदस्य डा. देउमान सम्वाहाम्फे , लगायत जिल्ला तथा विभिन्न स्थानीय जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो।
दोलखामा प्रशिक्षण
![dolakha1682240338.jpg](https://kalamnews.com.np/uploads/posts/dolakha1682240338.jpg)
स्थापना दिवसकै अवसरमा दोलखा जिल्ला कमिटीले तामाकोसी गाउँपालिकाको मालुमा दुईदिने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा ( एकीकृतसमाजवादी )का महासचिव घनश्याम भुसालले अबको बाटो राष्ट्रिय पुँजीको निर्माण गरि समाजवादको तयारी रहेको बताउनुभएको छ ।
भुसालले भन्नुभयो ‘कम्युनिष्ट पार्टीको अबको गन्तव्य समाजवाद निर्माण गर्ने हो र त्यसको नेतृत्व नेकपा ( एकीकृत समाजवादी ) ले मात्र गर्छ’ । महासचिव भुसालले २ वर्ष भित्र सबै कम्युनिष्ट पार्टीलाई नेतृत्व दिन सक्ने वैकल्पिक बाम शक्ति निर्माणमा लागेको पनि बताउनुभयो ।
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गर्दै भुसालले सही सिद्धान्त र समाजवादको लक्ष्यका साथ पार्टी स्थापना गरेको हुँदा उहाँ सम्मानित हुनुभएको र पार्टी स्थापना गर्दा बोकेको लक्ष्य पूरा गर्न कुशल संगठन निर्माण गरि त्यसको सही परिचालन गरेर संस्थापकको सपना पूरा गर्न एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका निर्माण गर्ने बताउनुभयो ।
२०७४ मा जनताले कम्युनिस्ट लाई ठूलो आशा र अपेक्षा गरेर दुई तिहाइ जनमत प्रदान गरेपनि त्यसको नेतृत्व गर्न नसकेर केपी ओलीले इतिहासकै ठूलो भुल गरेको र जनताको आशा र अपेक्षालाई निराशा बनाइदिएकाले केपी ओली झुटको अर्को नाम भएको दावी गर्नुभएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) दोलखाका अध्यक्ष भीम दहालको अध्यक्षतामा सम्पन्न स्थापना दिवसको कार्यक्रमसँगै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं स्कुल विभाग प्रमेश हमाल ,केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारी केन्द्रिय सदस्य अशेष घिमिरे, गोपाल न्यौपाने र महेन्द्र बहादुर कार्की, जिल्ला कमिटी उपाध्यक्ष एवं तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले प्रशिक्षण दिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
मधेश
कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसकै अवसमा नेकपा( एकीकृत समाजवादी ) मधेश प्रदेश कमिटीले जनकपुरमा विचार गोष्ठिको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा ( एकीकृतसमाजवादी )का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेता खनालले देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि सबै शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले पछिल्लो निर्वाचनपछि सङ्घ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने विश्वास समेत व्यक्त गर्नुभयो । प्रदेश कमिटी अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धर्मनाथ साह लगायतले बोल्नुभएको थियो ।
पोखरामा अन्तरक्रिया
![pokhra 121682240546.jpg](https://kalamnews.com.np/uploads/posts/pokhra 121682240546.jpg)
कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा कास्कीको पोखरामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कास्की जिल्ला कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रिय उपाध्यक्ष क केशव लाल श्रेष्ठ स्थायी कमिटी सदस्यहरू तुल ब गुरुङ र शारदा प्रसाद सुवेदी पोलिटब्युरो सदस्य एवम् कास्की इन्चार्ज श्रीनाथ बराल लगायतका वक्ताले नेपाली कम्युनिस्ट आन्दोलन बारेमा आफ्ना विचार व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष क खड्ग हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डि बि राई र स्वागत पूर्ण लामाले गर्नु भएको थियो ।
सुदूरपश्चिमम
![dhangadhi1682240644.jpg](https://kalamnews.com.np/uploads/posts/dhangadhi1682240644.jpg)
नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा ( एकीकृत समाजवादी ) सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा ‘नेपाल कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौति र सम्भावना’ विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको छ ।
पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज गरिमा शाहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा पार्टीका केन्द्रीय उपमहासचिव विजय पौडेलले संविधानमै व्यवस्था गरिएको वैज्ञानिक समाजवादबाटै राष्ट्रलाई समृद्धितर्फ लग्न सकिने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीले धेरै उपलब्धि हासिल गरेको तर, कम्युनिष्टहरूको आन्तरिक कमजोरी र मुल धारका पार्टीभित्र देखिएको असन्तुष्टि ठुलो चुनौति बन्ने गरेको बताउनुभयो । उहाँले केपी शर्मा ओलीले दुई तिहाइ बहुमतको सरकार बनाउँदा पनि देशमा परिवर्तन ल्याउन नसकेको बताउनुभयो ।
‘दलाल पुँजीवादी व्यवस्था हाबी हुँदा भ्रष्टाचार थप जटिल बन्दै गएको बताउँदै उहाँले। अहिले बनेको तीन तहकै सरकारमध्ये सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पार्टीका हरेक तहमा युवालाई समावेश गर्नु जरुरी रहेको विचार व्यक्त गर्दै वहाँले एकीकृत समाजवादी पार्टीले तयार पारेको नयाँ एजेण्डा र विचार जनतासामु लग्न आवश्यक रहेको बताउनुभयो ।
कर्णाली
![karnali1682240726.jpg](https://kalamnews.com.np/uploads/posts/karnali1682240726.jpg)
यसै अवसरमा नेकपा ( एकीकृत समाजवादी ) कर्णाली प्रदेश कमिटीले ७५ औ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सुर्खेतमा विचार गोष्ठीको आयोजना गरेको छ ।
कर्णाली प्रदेश अध्यक्ष क. अम्मरबहादुर थापाको अध्यक्षतामा सम्पन्न ‘नेपाली कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौति र सम्भावना विषयक विचार गोष्ठीमा पार्टी केन्द्रीय सचिव क. जीवनराम श्रेष्ठ लगायतका वक्ताले दक्षिण पन्थी अवसरवाद र दलाल पुँजीवादीका विरुद्ध नेपाली विशेषताको समाजवादी क्रान्तिको लक्ष्य निर्धारण गर्दै नेपाल कम्युनिस्ट आन्दोलनले ७४ आौ बसन्त पार गरि ७५ औं वर्षमा प्रवेश गरेको अवसरमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउँन लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य द्वय क. चन्द्र बहादुर शाही र क. शेर बहादुर के. सी., प्रदेश उपाध्यक्ष द्वय क. ठगेन्द्र प्रकाश पुरी र क. नन्दा शर्मा चपाइले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम प्रदेश कमिटी सचिव क. कृष्ण बहादुर वि. सी. ले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १३:३१